सरकारले आज र भोलि (सोमबारसम्म) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि वितरण गर्न थालेको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।
शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अल्बेन्डाजोल’ पनि खुवाइँदैछ।
कार्यक्रमका लागि स्थानीय तहहरूले आवश्यक खोप केन्द्रहरू स्थापना गरेका छन्। देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार भिटामिन ‘ए’ बालबालिकाको आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता तथा वृद्धि–विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। त्यस्तै जुकाको औषधिले पेटका कीराहरू हटाउने र कुपोषण, रक्तअल्पता, पेट दुखाइ तथा झाडापखालाजस्ता समस्याबाट बचाउन सहयोग गर्ने बताइएको छ।
नेपालमा भिटामिन ‘ए’ कमी रोकथाम तथा उपचार कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु गरिएको थियो र विसं २०५९ देखि देशभर विस्तार गरिएको हो।
त्यस्तै, जुकाको औषधि खुवाउने कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा लागू गरिएको हो। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस