अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने रमणीय गाउँ घान्द्रुकमा पर्यटकको चहलपहल बढेको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको हो।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक आउने गरेका छन्। अन्य दिनमा पनि करिब ६०० देखि ७०० पर्यटक भित्रिने गरेको उनले बताए।
“सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि अझै बढ्ने अपेक्षा गरिएको छ,” अध्यक्ष गुरुङले भने।
‘सबै मौसममा पर्यटन’ भन्ने मूलमन्त्रसहित स्थानीय पर्यटन व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन्। संस्कृति र प्रकृतिको संगमस्थलका रूपमा परिचित घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख आकर्षक गन्तव्य हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायका अनुसार घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकमध्ये भारतीय पर्यटकको संख्या बढी छ। उनका अनुसार यस याममा एक दिनमा ८५६ जनासम्म विदेशी पर्यटक घान्द्रुक क्षेत्रमा आएका छन्।
सडक पहुँच विस्तारका कारण पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रूपमा बढेको छ। व्यवस्थित पर्यटकीय पूर्वाधार, पदमार्ग र प्राकृतिक सौन्दर्यका कारण घान्द्रुक पर्यटकको रोजाइमा पर्ने गरेको कार्यालय प्रमुख उपाध्यायले बताए।
अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकता र सांस्कृतिक पहिचान जोगाउनु आवश्यक रहेको बताए। उनका अनुसार पछिल्लो समय बढ्दो कङ्क्रिट संरचनाले गाउँको मौलिक स्वरूपमा असर पारेको छ।
उनले परम्परागत शैलीमा घर निर्माण गर्ने स्थानीयलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानसम्बन्धी नीति ल्याउने तयारी गरेको जानकारी दिए।
विसं २०२६/२७ तिर स्थानीय शङ्करमान गुरुङले पर्यटनको आधार बसालेको घान्द्रुक अहिले देश–विदेशका पर्यटकको प्रमुख गन्तव्य बनेको छ। यहाँ वार्षिक हजारौँ पर्यटक आउने गरेका छन्।
घान्द्रुकमा हाल रिसोर्टसहित करिब ८० होटल र ३५ घरबास (होमस्टे) सञ्चालनमा छन्। पर्यटन क्षेत्रमा अर्बौँ रुपैयाँको लगानी भइसकेको छ भने सयौँ स्थानीयले रोजगारी पाएका छन्।
भारतीय, चिनियाँ तथा युरोप र अमेरिकालगायत देशका पर्यटक यहाँ आउने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, पुनहिल–घोरेपानीलगायत पदमार्गसँग जोडिएको घान्द्रुक पर्यटकहरूको प्रमुख विश्रामस्थलका रूपमा समेत परिचित छ।
पोखराबाट नयाँपुल हुँदै करिब पाँच–छ घण्टाको पदयात्रा वा दुई घण्टाको सवारी यात्रामा घान्द्रुक पुग्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस