जिल्ला ट्राफिक कार्यालय कास्की ले गत वैशाख महिनामा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटा का अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका छन्।
उनले ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीसाधनका चालकलाई नियमित रूपमा कारबाही गरिँदै आएको बताए।
कार्यालयका अनुसार वैशाख महिनामा २२ वटा सवारीसाधन दुर्घटनामा परेका थिए। ती दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
प्रहरी निरीक्षक देवकोटाका अनुसार १२ वटा दुर्घटना तीव्र गतिका कारण भएका हुन्। त्यसैगरी चालक अनुमतिपत्रबिना सवारी चलाएका पाँच तथा मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटनामा परेको तथ्याङ्कमा उल्लेख छ।
“मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ,” उनले भने, “जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयले संयुक्त रूपमा सवारी जाँच गर्दै आएका छन्।”
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले सवारी दुर्घटना न्यूनीकरणका साथै प्रहरी कर्मचारीको व्यवहार सुधार र सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिका लागि नमुना जाँच कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस