काठमाडौं । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले शिक्षा, चिकित्सा र दानलाई नै मुलुकको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।
काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको बाल अस्पताल ‘किओच’को साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्ता क्षेत्रमार्फत नै समाज र राष्ट्र सही दिशामा अघि बढ्ने बताएका हुन् ।
भाटभटेनी समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफ्नै व्यक्तिगत लगानीबाट ७१ करोड रुपैयाँ खर्चेर उक्त अस्पताल भवन निर्माण गरिदिएका हुन् । शनिबार आयोजित विशेष समारोहमा गुरुङले जगद्गुरु शंकराचार्यमार्फत अस्पतालका अध्यक्ष डा. भगवान कोइरालालाई भवनको साँचो हस्तान्तरण गरेका थिए ।
जगद्गुरु भारतीले गुरुङको योगदानको प्रशंसा गर्दै यस्तो सहयोगले नेपालका बालबालिकाको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तै सद्कार्यका लागि सामर्थ्य र प्रेरणा मिलिरहने आशा व्यक्त गरे ।
उनले भने, “पैसाले मात्रै केही हुँदैन, त्यसलाई सही तरिकाले उपयोग गर्न जान्नुपर्छ। सबैको सामूहिक प्रयास र जनशक्ति आवश्यक हुन्छ।”
साथै, उनले समाजमा नेतृत्वको महत्व औंल्याउँदै सबैले नेतृत्वको आकांक्षा राख्दा काम अघि नबढ्ने बताउँदै एकजना सक्षम नेतृत्व र बाँकीको सहकार्य आवश्यक हुने धारणा राखे ।
जगद्गुरुले शिक्षा, स्वास्थ्य र दानलाई समाज विकासको आधार स्तम्भका रूपमा व्याख्या गर्दै यी तीन क्षेत्र बलियो भए देश समृद्ध बन्ने बताए ।
कार्यक्रममा मीनबहादुर गुरुङले सबैको सहयोग र सदिच्छाका कारण अस्पताल निर्माण सम्भव भएको बताउँदै उपस्थित सबैप्रति आभार व्यक्त गरे ।
अस्पतालका अध्यक्ष डा. भगवान कोइरालाले पनि सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद दिँदै अस्पतालले बालबालिकाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त अस्पताललाई भारतको ताजमहलसरह महत्वको संरचना भन्दै यसको दीर्घकालीन प्रभावबारे विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस