अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्टले नेपाल सरकारसँग सहकार्य गर्दै देशमै अत्याधुनिक अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने तथा विज्ञान–प्रविधि क्षेत्रमा उल्लेखनीय वैदेशिक लगानी भित्र्याउने महत्वाकांक्षी प्रस्ताव अघि सार्नुभएको छ।
हाल पोल्याण्डको प्रतिष्ठित Jagiellonian University मा वैज्ञानिकका रूपमा कार्यरत डा. भट्टले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्र स्वच्छ आकाश, न्यून प्रकाश प्रदूषण र अनुकूल भौगोलिक अवस्थाका कारण विश्वस्तरीय खगोलीय अनुसन्धानका लागि अत्यन्त उपयुक्त रहेको बताउनुभएको छ। उहाँले नेपालमा आधुनिक टेलिस्कोप जडान तथा अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना सम्बन्धी प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत सम्पन्न गरिसकेको जानकारी दिनुभयो।
ब्ल्याकहोल, ब्लेजर तथा उच्च ऊर्जा खगोल भौतिकशास्त्रका क्षेत्रमा सक्रिय अनुसन्धानरत डा. भट्टले नासा (NASA) तथा युरोपियन स्पेस एजेन्सी (ESA) का अत्याधुनिक टेलिस्कोपबाट प्राप्त तथ्याङ्क प्रयोग गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग सहकार्य गरिरहनुभएको छ।
हालैको नेपाल भ्रमणका क्रममा उहाँले स्वदेशमै अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्न सके नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा ऐतिहासिक फड्को मार्न सकिने विश्वास व्यक्त गर्नुभयो। यस्तो केन्द्रले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रियस्तरको विज्ञान अध्ययन र अनुसन्धानको अवसर स्वदेशमै उपलब्ध गराउनुका साथै अत्याधुनिक प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
डा. भट्टले विदेशमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञहरूसँग पर्याप्त ज्ञान, अनुभव, प्रविधि र आर्थिक स्रोत रहेको उल्लेख गर्दै स्पष्ट सरकारी नीति, सहजीकरण र सहकार्य भए ती स्रोतहरू नेपालकै विकासमा उपयोग गर्न सकिने बताउनुभयो।
“हामीसँग प्रविधि, अनुभव र पूँजी छ। विदेशमा वर्षौँदेखि विज्ञान क्षेत्रमा काम गरेर आर्जन गरेको ज्ञान, सीप र स्रोत नेपालकै समृद्धिका लागि प्रयोग गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना भएमा अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, विश्वविद्यालय तथा निजी क्षेत्रको सहकार्यमार्फत ठूलो मात्रामा वैदेशिक लगानी नेपाल भित्र्याउन सकिने सम्भावना छ। यसले नेपाललाई परम्परागत अर्थतन्त्रबाट ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
डा. भट्टले विज्ञान तथा प्रविधिलाई राष्ट्रिय विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न स्पष्ट नीति, प्रशासनिक सहजीकरण, दीर्घकालीन लगानी र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। सरकारले विज्ञान क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक वातावरण सिर्जना गरे नेपाल दक्षिण एशियामै अन्तरिक्ष अनुसन्धानको उदीयमान केन्द्रका रूपमा स्थापित हुन सक्ने उहाँको विश्वास छ।
प्रतिक्रिया दिनुहोस