२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे दुई वर्षमै सडकमा हिँड्न नसकिने अवस्था आउन सक्छ : एसएसपी काफ्ले

मंगलवार, आषाढ २ २०८३१२:५९

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले काठमाडौं उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।

संघीय संसद्अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी तथा ढुवानी व्यवस्थापन’ विषयमा प्रस्तुति दिँदै एसएसपी काफ्लेले ट्राफिक व्यवस्थापन प्रविधिमैत्री नहुँदा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताए।

उनका अनुसार नेपालमा हाल करिब ६५ लाख सवारी साधन दर्ता भएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक औसत २० लाख सवारी साधन सञ्चालन हुने गरेका छन्। यति ठूलो संख्याका सवारी साधन व्यवस्थापनका लागि देशभर करिब २५ सयदेखि २६ सय ट्राफिक प्रहरी मात्र परिचालन हुनुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।

एसएसपी काफ्लेले हरेक दिन औसत २ हजारदेखि ३ हजार ५ सय भारतीय सवारी साधन नेपाल भित्रिने गरेको जानकारी दिँदै ती सवारीको भारवहन क्षमताको प्रभावकारी अनुगमन नहुँदा सडक पूर्वाधार चाँडै क्षतिग्रस्त हुने गरेको बताए।

ट्राफिक नियम उल्लंघनलाई निरुत्साहित गर्न जरिवाना रकम उल्लेखनीय रूपमा बढाउनुपर्ने उनको धारणा छ। “हालको ५ सय वा १ हजार रुपैयाँ जरिवाना प्रभावकारी हुन सकेको छैन,” उनले भने, “नियम उल्लंघन गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ।”

काठमाडौंका सडकमा हाल प्रयोग भइरहेको म्यानुअल ट्राफिक व्यवस्थापन प्रणालीलाई विस्थापित गरी एआईमा आधारित एकीकृत ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्ने सुझाव पनि उनले दिए। उक्त प्रणाली कार्यान्वयनका लागि करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

“अहिलेका ट्राफिक लाइटहरू एकआपसमा समन्वयित (सिङ्क्रोनाइज) छैनन्, जसले जाम व्यवस्थापनमा समस्या उत्पन्न गरेको छ,” उनले भने, “प्रविधिमा लगानी नगर्ने हो भने केही वर्षमै एम्बुलेन्ससमेत समयमा अस्पताल पुग्न नसक्ने अवस्था आउन सक्छ।”

दुर्घटनाको वास्तविक कारण पहिचान गर्न र विवाद न्यूनीकरण गर्न सार्वजनिक तथा निजी सवारी साधनमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने उनको सुझाव छ। साथै, नाकाहरूमा डिजिटल एकीकृत चेकपोस्ट स्थापना, सरकारी तवरबाट सवारी तौल जाँच्ने ‘धर्मकाँटा’ व्यवस्था तथा पुराना र म्याद सकिएका सवारी साधन हटाउन ‘स्क्र्याप नीति’ तत्काल लागू गर्नुपर्नेमा उनले जोड दिए।

एसएसपी काफ्लेले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम समावेश गर्नुपर्ने तथा ट्राफिक अनुगमनका लागि ड्रोन र रोबोटको प्रयोग विस्तार गर्नुपर्ने बताए।

उनले सडकको क्षमता र संरचनालाई बेवास्ता गर्दै रुट इजाजत दिने प्रवृत्तिले पनि ट्राफिक जाम बढाएको उल्लेख गर्दै समस्या समाधानका लागि ट्राफिक प्रहरीमात्रै होइन, सरकार र सम्बन्धित निकायले पूर्वाधार विकास तथा प्रविधिमा पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij