२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

मंगलवार, आषाढ ९ २०८३०८:३५

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनामा देशभरका ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको छ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

बर्डफ्लु नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म संक्रमित क्षेत्रका ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको विभागले जनाएको छ। साथै ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कोसी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। यसअघि कोसी प्रदेशमा लागू गरिएको एक महिने पन्छी ओसारपसार प्रतिबन्धसमेत खुकुलो बनाइएको छ।

तर, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा पछिल्लो समय संक्रमण बढ्दो क्रममा रहेको विभागले जनाएको छ। देशमा फैलिएको भाइरसको स्वरूपमा परिवर्तन आएको छ वा छैन भन्ने अध्ययन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ प्रक्रिया सुरु गरिएको छ।

बर्डफ्लु नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ।

परीक्षणका क्रममा बर्डफ्लुसँगै ‘लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’, रानिखेत र इकोलाईजस्ता रोगसमेत देखिएको विभागले जानकारी दिएको छ। यसले गर्दा पन्छीपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, जंगली र घरपालुवा पन्छीबीच सम्पर्क हुन नदिन तथा दाना र पानीको व्यवस्थापनमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

त्यस्तै, पन्छी तथा पन्छीजन्य सामग्री ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने विभागले जनाएको छ। कुनै फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी परेमा वा ठूलो संख्यामा पन्छी मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij