काराकास । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फसेको आशङ्कामा उद्धार कार्य तीव्र पारिएको छ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलामा व्यापक क्षति पुर्याएका छन्। सयौँ भवन भत्किएका छन् भने धेरै संरचनामा चर्को क्षति पुगेको छ। बिहीबारसम्म पनि परकम्पहरू महसुस भइरहेका छन्।
स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार मृतकको संख्या २३५ पुगेको छ भने घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यमा उद्धारकर्मी र स्थानीयवासी भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटेका छन्। तर पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभावले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।
डोमिङ्गो लुसियानी अस्पतालका एक चिकित्सकका अनुसार धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल ल्याइएका छन्। केहीले आफ्नो परिचय दिन सकेका छन् भने केहीको पहिचान अझै खुल्न सकेको छैन।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले प्रभावित क्षेत्रको निरीक्षण गर्दै ला गुआइरालाई विपद् प्रभावित क्षेत्र घोषणा गरेकी छन्। यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका पसलमा लुटपाटसमेत भएको जनाइएको छ।
भूकम्पपछि विश्वका विभिन्न मुलुकले राहत तथा उद्धार सहयोगको प्रतिबद्धता जनाएका छन्। स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिको ले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन्।
संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उद्धार तथा राहतमा आफ्नो देशको सहयोग तीव्र र प्रभावकारी हुने बताएका छन्।
यसैगरी चीन, भारत, ब्राजिल र इरानले पनि सहयोगको प्रस्ताव गरेका छन्। पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गरेका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता प्रमुख टम फ्लेचरले यो भूकम्पलाई १२६ वर्षयताकै सबैभन्दा शक्तिशालीमध्ये एक भएको उल्लेख गर्दै व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन्।
उद्धार तथा राहत कार्यलाई थप चुनौतीपूर्ण बनाउँदै ला गुआइरा अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि विमानस्थल बन्द गरिएको छ। मृतकमध्ये दुई ब्राजिलियन, दुई चिनियाँ, एक इटालियन र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन्।
क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा रहेको भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ। सन् १९९७ मा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ को भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए। सन् १९०० को ७.७ म्याग्निच्युडपछि हालको ७.५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।
भूकम्पको धक्का छिमेकी कोलम्बिया र उत्तरी ब्राजिलसम्म महसुस गरिएको थियो। राजधानी काराकासमा पनि त्रास फैलिएको छ। धेरै नागरिकले सुरक्षाका लागि सडक तथा आफ्ना सवारी साधनमै रात बिताएका छन्।
प्रतिक्रिया दिनुहोस