काठमाडौं । फ्रान्स समूह 'आइ' को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूहको आफ्नो अन्तिम खेलमा नर्वेलाई ४–१ गोल अन्तरले पराजित गर्दै फ्रान्सले शीर्ष स्थान सुरक्षित गरेको हो।
फ्रान्सको जितमा उसामन डेम्बेलेले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनले खेलको छैटौँ, २० औँ र ३१ औँ मिनेटमा गोल गरेका थिए। खेलको इन्जुरी समयमा डिजायर डिजोले थप एक गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। नर्वेका लागि थियोलो ओसागर्डले २१ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए।
यसअघिका खेलमा फ्रान्सले सेनेगललाई १–० र इराकलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। लगातार तीन जितसहित नौ अङ्क बटुलेर फ्रान्स समूह तालिकाको शीर्ष स्थानमा रह्यो।
यता, दुई जित र एक हार व्यहोरेको नर्वे ६ अङ्कका साथ समूहको दोस्रो स्थानमा रह्यो। नर्वेले यसअघि इराकलाई ४–१ र सेनेगललाई ३–२ ले पराजित गरेको थियो।
त्यस्तै, समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ। सेनेगलको जितमा हबिब दियारा (चौथो मिनेट), पेपे ग्वेल (५९ औँ र ७१ औँ मिनेट), इसामेल सार (५६ औँ मिनेट) र लिमेन निदाय (८१ औँ मिनेट) ले गोल गरे।
समूह चरणमा यो सेनेगलको पहिलो जित हो। यसअघि फ्रान्ससँग १–० र नर्वेसँग ३–० ले पराजित भएको सेनेगल तीन अङ्कका साथ तालिकाको तेस्रो स्थानमा सीमित भयो। यता, समूहका तीनवटै खेलमा पराजित भएको इराक भने विश्वकपबाट बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस