२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

मेसीको कीर्तिमानसँगै अर्जेन्टिना समूह विजेता, अल्जेरिया र अस्ट्रिया पनि नकआउटमा

आइतवार, आषाढ १४ २०८३१०:१२

काठमाडौं । फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले शतप्रतिशत जितसहित समूह विजेताका रूपमा अन्तिम ३२ (नकआउट) चरणमा स्थान सुरक्षित गरेको छ। कप्तान लियोनेल मेसीले पनि नयाँ कीर्तिमान बनाउँदै टोलीको जितमा योगदान दिएका छन्।

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो। दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मेसीले ८०औँ मिनेटमा फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरेका थिए। यो जारी विश्वकपमा उनको तेस्रो तथा विश्वकप इतिहासमा १९औँ गोल हो।

यससँगै मेसी फिफा विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। अघिल्लो विश्वकपमा लगातार चार खेलमा गोल गरेका उनले यस संस्करणका तीनवटै समूह चरणका खेलमा पनि गोल गर्दै उक्त कीर्तिमान कायम गरेका हुन्।

अर्जेन्टिनाका लागि १९औँ मिनेटमा जी. लो सेल्सोले फ्रि-किकबाट पहिलो गोल गरे भने ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए।

जोर्डनका लागि ५५औँ मिनेटमा मुसा अल तामारीले एक गोल फर्काए पनि मेसीको गोलसँगै अर्जेन्टिनाले ३–१ को सहज जित निकाल्यो। हारसँगै जोर्डन अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अल्जेरिया र अस्ट्रिया दुवै नकआउटमा

अर्को खेलमा अल्जेरिया र अस्ट्रियाबीच ३–३ गोलको रोमाञ्चक बराबरी भएपछि दुवै टोली अन्तिम ३२ मा प्रवेश गरेका छन्।

कन्सास सिटीमा भएको खेलमा अस्ट्रियाले २८औँ मिनेटमा मार्को अर्नाउटोभिचको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा आर. बेल्घालीले अल्जेरियाका लागि बराबरी गोल फर्काए।

दोस्रो हाफमा ५५औँ मिनेटमा मार्सेल साबिट्जरले अस्ट्रियालाई पुनः अग्रता दिलाए। तर, रियाद महरेजले ६०औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै अल्जेरियालाई ३–२ को अग्रता दिलाएका थिए। तर, खेल सकिनै लाग्दा ९६औँ मिनेटमा वैकल्पिक खेलाडी सासा कालाज्दिचले गोल गर्दै अस्ट्रियालाई ३–३ को बराबरी दिलाए।

यो नतिजासँगै अस्ट्रिया समूह ‘जे’को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ, जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो स्थानमा रहेको अल्जेरियाले स्विट्जरल्यान्डसँग खेल्नेछ भने यसै समूहको नतिजाका कारण इरान विश्वकपबाट बाहिरिएको छ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij