काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र उनका सन्ततिलाई नि:शुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।
महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट यस सम्बन्धमा विधिसम्मत रूपमा निर्णय गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने महानगरका प्रवक्ता नविन मानन्धरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
मुगु जिल्ला घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले यही असार २५ गते राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए।
उपचारका क्रममा उनको दुःखद निधन भएपछि महानगरपालिकाले गहरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
यस घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्दै महानगरपालिकाले उक्त समितिलाई तथ्यगत छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
छानबिन समितिबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चालिने महानगरले स्पष्ट पारेको छ।
महानगरपालिकाले आगामी दिनमा यस्ता संवेदनशील घटनाहरू दोहोरिन नदिनका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै समाधानका उपायहरू पहिचान गर्न र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान आफू तयार रहेको जनाएको छ।
साथै, यस दुःखद र संवेदनशील घडीमा सबै पक्षलाई संयमित रहन र धैर्य धारण गर्न समेत महानगरपालिकाले हार्दिक अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस