काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा ३३ हजार ३२८ वटा उजुरी परेका छन्।
अख्तियारका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका ती उजुरीसहित अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ७ हजार ३२३ उजुरी जोड्दा कुल ४० हजार ६५१ उजुरीमाथि आयोगले काम गरेको थियो।
प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित ४८.९६ प्रतिशत रहेका छन्। त्यस्तै, संघीय निकायसँग सम्बन्धित ३८ प्रतिशत र प्रदेश सरकारसँग सम्बन्धित १३.०४ प्रतिशत उजुरी रहेको अख्तियारले जनाएको छ।
उजुरी दर्ताका माध्यममध्ये सबैभन्दा बढी अख्तियारको वेबसाइटमार्फत ३०.९१ प्रतिशत उजुरी परेका छन्। त्यसपछि इमेलबाट २७.०२ प्रतिशत, लिखित निवेदनबाट २१.७४ प्रतिशत, हुलाकमार्फत १२.८७ प्रतिशत र अन्य माध्यमबाट ७.४६ प्रतिशत उजुरी प्राप्त भएका छन्।
अख्तियारका अनुसार प्राप्त कुल ४० हजार ६५१ उजुरीमध्ये ३२ हजार ७९९ (८०.६८ प्रतिशत) उजुरी छानबिन तथा अनुसन्धानबाट फर्छ्योट भएका छन्। बाँकी ७ हजार ८५२ उजुरी चालु आर्थिक वर्ष २०८३/८४ का लागि जिम्मेवारी सरेका छन्।
प्रतिक्रिया दिनुहोस