सुनसरीको देवानगन्जमा आइतबार राति भएको घटनापछि जिल्लाको अवस्था अझै तनावग्रस्त बनेको छ। प्रहरीको गोली प्रहारबाट एक युवकको मृत्यु भएपछि स्थानीयले सोमबारदेखि सुरु गरेको विरोध प्रदर्शन मंगलबार बिहान पनि जारी राखेका छन्।
मंगलबार बिहानै सुनसरीको लौकी र फूलचोक क्षेत्रमा स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करिब २०–२५ जनाको समूहले मुख्य सडकमा प्रदर्शन गर्दै यातायात प्रभावित बनाएका हुन्।
आइतबार राति देवानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसपछि स्थानीयले विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए।
अवस्था नियन्त्रणमा लिन सुनसरीमा नेपाली सेना समेत परिचालन गरिएको छ। सोमबार केही समय आन्दोलन शान्त भएको भए पनि मंगलबार बिहानदेखि फेरि प्रदर्शन सुरु भएको हो।
यसैबीच जिल्लाको सुरक्षा अवस्था सुधार गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरिएको छ। नयाँ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार साँझदेखि नै कार्यभार सम्हालेका छन् भने नयाँ प्रहरी प्रमुख पनि जिल्लामा पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
नयाँ नेतृत्व आएपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न सर्वदलीय छलफल र जिल्ला सुरक्षा समितिको बैठक गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस