कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
मुगुको सोरु गाउँपालिका–६ निवासी शाहीले नेकपाका १४, एमालेका १० प्रदेशसभा सदस्यहरूको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुखले उक्त दाबी संविधानसम्मत देखिएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शाही कर्णाली प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री शाहीको पद तथा गोपनीयताको शपथ ग्रहण भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कर्णालीमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएपछि नेकपा र एमालेबीच नयाँ सत्ता समीकरण बनेको हो । सोही राजनीतिक सहमतिअनुसार सरकारको नेतृत्व नेकपाले गर्ने र एमालेले समर्थन गर्ने समझदारी कार्यान्वयनस्वरूप शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस