विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ। नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले उनलाई विश्वासको मत दिएका हुन्।
त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा २२ मत विपक्षमा परेको छ।
कोशी प्रदेशसभामा सभामुखसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच सदस्य छन्। उनीहरूले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टी (जसपा) की एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन्।
कुल ९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।
मुख्यमन्त्री कार्कीले सरकारको नेतृत्व निरन्तरता दिनका लागि प्रदेशसभामा विश्वासको मत मागेका थिए।
प्रतिक्रिया दिनुहोस