२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

बाढीपछि सेलिब्रिटीका मनोरञ्जन कार्यक्रम स्थगित, सहयोगमा जुट्न कार्यक्रम व्यवस्थापन संघको अपील

उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिँदै तीज विशेष कार्यक्रम रद्द

बिहिवार, भाद्र ११ २०८३०३:०४

रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सेलिब्रिटी तथा कलाकारहरूले आफ्ना मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्न थालेका छन्।

बाढीका कारण नागरिकहरू संकटमा परेको र देश नै शोक तथा असहज परिस्थितिबाट गुज्रिरहेको भन्दै विभिन्न सांगीतिक, हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका हुन्।

गाइजात्राको अवसर पारेर भदौ १२ गतेदेखि छुट्टाछुट्टै आयोजना गर्ने तयारीमा रहेका दुईवटा हास्यव्यङ्ग्य प्रहसन कार्यक्रमसमेत स्थगित गरिएको छ। सम्बन्धित सांस्कृतिक संस्थाले बिहीबार विज्ञप्ति जारी गर्दै गाइजात्राअन्तर्गत भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने भनिएका कार्यक्रमहरू हाललाई स्थगित गरिएको जानकारी दिएको हो।

हास्यकलाकार मनोज गजुरेलको समूहले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्ने तयारी गरेको ‘२०८३ को गाइजात्रा’ पनि स्थगित भएको छ। यी दुई गाइजात्रा कार्यक्रममा डेढ दर्जनभन्दा बढी कलाकार सहभागी हुने तय भएको थियो।

त्यस्तै, हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को बिहीबार आयोजना हुने भनिएको पत्रकार सम्मेलनसमेत स्थगित गरिएको छ।

यसैबीच, गायिका रचना रिमालले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमार्फत एक लाख रुपैयाँ सहयोग गर्दै आफ्ना सांगीतिक कार्यक्रमसमेत हाललाई स्थगित गरेकी छन्। सांगीतिक प्रस्तुतिका लागि हाल अस्ट्रेलियामा रहेकी रिमालले शुक्रबार सिड्नीमा प्रस्तुति दिने तय भए पनि देश नै असहज परिस्थितिमा रहेकाले कार्यक्रम रोकिएको जानकारी दिएकी छन्। उनले अर्को सूचना जारी गरी आगामी कार्यक्रमबारे जानकारी दिने बताएकी छन्।  त्यस्तै, गायक प्रकाश दूतराजका निर्धारित सांगीतिक प्रस्तुतिसमेत स्थगित भएका छन्।

उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिँदै तीज विशेष कार्यक्रम रद्द

प्याजेन्ट नेपाल, शोभा बुटिक होटल तथा निरी डान्स एकेडेमीको संयुक्त आयोजनामा आगामी भदौ २१ गते कान्जिरोवा कलेजमा आयोजना हुने तय भएको वृहत् तीज विशेष कार्यक्रम पनि हालका लागि रद्द गरिएको छ। देशमा उत्पन्न विषम तथा दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम अन्तिम तयारीको चरणमा पुगिसकेको अवस्थामा समेत स्थगित गर्नुपरेको आयोजकहरूले जनाएका छन्।

विशेष आकर्षणका रूपमा देशका चर्चित तथा लोकप्रिय कलाकारहरूको सहभागितासहित विविध सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने गरी तयारी गरिएको उक्त कार्यक्रम बाढी तथा विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्कालका लागि रोकिएको हो। राष्ट्र नै विपद्को पीडामा रहेका बेला उत्सवभन्दा मानवीय संवेदना र पीडितको साथमा उभिनु महत्वपूर्ण रहेको भन्दै आयोजकहरूले कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्।

मनोरञ्जनभन्दा मानवीय सहयोग महत्वपूर्ण : कार्यक्रम व्यवस्थापन संघ

बाढी तथा जलप्रलयबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउन कार्यक्रम व्यवस्थापन संघ, नेपालले समेत सबै कलाकार, कार्यक्रम आयोजक, प्राविधिक, व्यवसायी तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई अपील गरेको छ।

संघले विपद्को यस कठिन घडीमा मनोरञ्जनात्मक गतिविधिभन्दा पीडित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा मानवीय सहयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। संघले आफ्ना सम्पूर्ण सदस्य, कलाकार, प्राविधिक, कार्यक्रम आयोजक तथा सम्बद्ध सबैलाई आफूले सक्ने स्रोत, साधन, श्रम र सहयोग लिएर विपद् प्रभावित क्षेत्रमा सहयोग गर्न आह्वान गरेको हो।

संघले भोटेकोशी–त्रिशूली जलप्रलयबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइते र बेपत्ता नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, सरकार तथा सम्बन्धित निकायलाई प्रभावित नागरिकको शीघ्र उद्धार, राहत, उपचार, खाद्यान्न, अस्थायी आवास तथा पुनःस्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

कार्यक्रम व्यवस्थापन संघको अपीलमा भनिएको छ, “विपद्मा एकजुट बनौँ, मानवीय सहयोगमा जुटौँ।” संघले देशभित्र तथा विदेशमा रहेका नेपाली, संघ–संस्था, व्यवसायी, कलाकार, समाजसेवी तथा सहयोगी मन भएका सबैलाई विपद्को यस घडीमा मानवीय संवेदना र एकताको परिचय दिँदै उद्धार तथा राहत कार्यमा सहयोग गर्न हार्दिक अपील गरेको छ।

संघले संकटमा परेका नागरिकको जीवनरक्षा र पीडित परिवारको साथमा उभिनु अहिलेको सबैभन्दा ठूलो मानवीय दायित्व भएको उल्लेख गर्दै “मनोरञ्जन केही समयका लागि स्थगित गर्न सकिन्छ, तर संकटमा परेका नागरिकको जीवनरक्षा र सहयोग पर्खिन सक्दैन” भन्ने भावनासहित सबैलाई सहयोगमा जुट्न आग्रह गरेको छ।

देश नै विपद्को पीडामा रहेका बेला कलाकार तथा मनोरञ्जन क्षेत्रबाट कार्यक्रम स्थगित गर्दै पीडितको पक्षमा उभिने क्रम बढ्नुले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij