काठमाडौं । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि थप सहयोग उपलब्ध गराएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री तथा विभिन्न प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।
विदेशमन्त्री जयशंकरले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको विपद् व्यवस्थापन, खोजी तथा उद्धार र राहत प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक उपकरणसहितको प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
दूतावासका अनुसार उद्धार कार्यमा आवश्यक उपकरणसहित सुरुङ (टनेल) प्राविधिक टोली नेपाल पठाइएको छ। त्यस्तै, बाढीपहिरोमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए विश्लेषण गर्न आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोलीसमेत नेपाल आइपुगेको छ।
भारतले पठाएको राहत सामग्रीमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइका सामग्रीलगायत अत्यावश्यक सामग्री रहेका छन्। यो भारतबाट नेपाल पठाइएको चौथो खेपको सहायता हो।
यातायात सञ्चालनका लागि पुल निर्माणमा पनि सहयोग
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन भारतले संरचनागत सहयोगसमेत उपलब्ध गराएको छ।
विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्।
यसका अतिरिक्त थप सात वटा बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरण तथा ती पुल जडान गर्ने प्राविधिक टोली पनि छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन्।
हालसम्म ६८.५ टन राहत सामग्री काठमाडौंमा
भारतले बाढीपहिरो प्रभावित नेपालका लागि हालसम्म कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौं ल्याइसकेको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार यसअघि पठाइएका राहत सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विभिन्न प्राविधिक उपकरणहरू रहेका छन्।
भारतले विपद्को समयमा नेपाललाई आवश्यक राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस