देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ। व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका छन्।
महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख सहयोग गरेका छन्। व्यक्तिगत उत्सवमा हुने खर्च कटौती गरी विपद्मा परेका नागरिकको सहयोगका लागि रकम उपलब्ध गराएको झाले बताए।
देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित नलागेकाले प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ।
‘देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन। बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ,’ उनले भने।
यसैगरी बर्दिबासकी सामाजिक अभियन्ता तथा योगगुरु सुमित्रा भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार सहयोग गरेकी छिन्। भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित परिवार राहत तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनाले प्रेरित भएर सहयोग गरेको उनले बताइन्।
विपद्का बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै भट्टराईले सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने बताइन्।
त्यस्तै, बर्दिबास उद्योग वाणिज्य सङ्घको सहकार्यमा श्रीकृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषण थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार सहयोग गरेका छन्।
यसैबीच मोनास्टिक स्कुल/कलेजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५ लाख १ हजार सहयोग गर्ने भएको छ। प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको विद्यालयले जनाएको छ।
विद्यालयका निर्देशक डा. सोनु साहले विपद्का बेला पीडित परिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताए। उनले विपद्को कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाज सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिए।
विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि महोत्तरीबाट व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग जुट्ने क्रमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको छ।
प्रतिक्रिया दिनुहोस