अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीको जोखिम बढेपछि यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको हो।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङ–झापा जोड्ने उक्त सडक बन्द भएपछि हाल वैकल्पिक बाटोबाट सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर र गजुरी गाउँपालिका–२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरोका कारण यातायात ठप्प छ।
रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड तथा पासाङल्हामु सडक खण्डका मुख्य मार्गहरू पूर्ण रूपमा बन्द भएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।
- बीपी राजमार्ग: काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइनेछ।
- कान्ति लोकपथ: मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
- टोखा–छहरे सडक: नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोला खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खसेपछि नाग्म–मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस