राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यकबाहेक हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न पनि अनुरोध गरेको छ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सीमित हवाई स्रोतलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्नुपर्ने जनाएको हो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तह प्रभावित भएका छन्। प्रभावित तथा जोखिमयुक्त क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको माग बढिरहेको भए पनि उपलब्ध हवाई साधन सीमित रहेकाले खोज तथा उद्धार र राहत सामग्री ढुवानीजस्ता अत्यावश्यक कार्यमा मात्र प्रयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
अत्यावश्यक हवाई उद्धार आवश्यक नभएका नागरिकलाई सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। हालसम्म बाढी प्रभावित क्षेत्रबाट २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपाली गरी कुल ३ हजार ५९६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
धादिङ जाने वैकल्पिक मार्ग
धादिङतर्फ जाने सवारीसाधनलाई धादिङबेसी–परैवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्तार (ह्याम्लेट रेष्टुरेन्ट)सम्मको पृथ्वी राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
रसुवा जाने वैकल्पिक मार्ग
त्यस्तै, रसुवा जाने सवारीसाधनका लागि विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका अनुसार रसुवा–कालिकास्थान–धुन्चे सडकखण्डका सात स्थानमा क्षति पुगेका कारण हाल उक्त मार्गमा नियमित यातायात सञ्चालन हुन सकेको छैन।
प्राधिकरणले उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै विपद् प्रभावित नागरिकसम्म राहत पुर्याउने र आवश्यक उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस