नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ वटा शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार (भदौ १५) खोज तथा उद्धारका क्रममा मिनिमार्ट रहेको घरभित्रबाट २४ वटा शव फेला परेका हुन्।
नुवाकोटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले घरभित्र २४ वटा शव भेटिएको जानकारी दिए।
उनका अनुसार घरभित्र बालुवा भरिएको अवस्थामा शवहरू फेला परेका हुन्।
फेला परेका शवमध्ये १० वटा शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइसकिएको एसपी रेग्मीले बताए।
बाँकी शव पनि पहिचान तथा पोस्टमार्टमका लागि सोही अस्पताल पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
घटनास्थलमा थप खोज तथा उद्धारसँगै अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार टोली परिचालन गरी घरभित्रको अवस्था निरीक्षण तथा अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।
यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारका क्रममा उत्तरगया मिनिमार्टबाट ती शव फेला परेका हुन्।
प्रतिक्रिया दिनुहोस