बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित अभिभावकविहीन बालबालिकालाई आवास सुविधासहित अध्ययन गराउने निर्णय गरेको छ।
हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित अभिभावकविहीन बालबालिकाको लागि आवाससहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रदेश सरकारका प्रवक्ता भरत केसीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रका बाढी प्रभावित र अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको बताए।
बाढीका कारण कति बालबालिकाले अभिभावक गुमाएका छन् भन्ने तथ्यांक निकालेर उनीहरूलाई आवाससहित शिक्षा प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ।
यस्तै, बागमती प्रदेशको विपत् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधिलाई संशोधन गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिए। उनका अनुसार विपत् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहलाई नै रकम निकासा गर्नेगरी कार्यविधि संशोधन गरिएको छ।
प्रतिक्रिया दिनुहोस