२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

सेनाले गर्‍यो हालसम्म ३ हजार ९३५ जना बाढी प्रभावितको हवाई उद्धार

शुक्रवार, भाद्र १९ २०८३११:३३

नेपाली सेनाले रसुवा बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ १८ गते साँझ ७ बजेसम्म सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ।

यससँगै नेपाली सेनाले हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९३५ जनाको उद्धार गरेको छ।

टनेलभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि पनि विभिन्न जलविद्युत् आयोजनामा संयुक्त टोली परिचालन गरिएको सेनाले जनाएको छ।

लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ। टोली दोस्रो सेग्मेन्टमा प्रवेश गर्ने तयारीमा छ। उक्त टनेलबाट हालसम्म दुईवटा शव फेला परेका छन्।

त्यस्तै, चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

त्रिशूली-३ ए मा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो, ढुङ्गा तथा बालुवा हटाउने काम गरिरहेको छ।

टोली करिब ३० मिटरभित्र पुगेको सेनाले जनाएको छ। खोजीका लागि थप उपकरण प्रयोग गरी टनेलभित्र फेला परेको ठूलो ढुङ्गा ब्लास्टिङ गर्ने र टनेल सफा गर्ने काम भइरहेको छ।

त्रिशूली-३ बीमा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ।

टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरबाट बाटो बनाउने तथा बबक्याटको प्रयोग गरी माटो पन्छाउने काम गरिरहेको छ।

अडिट-१ बाट टोली ४२६ मिटरभित्र प्रवेश गरिसकेको छ भने थप खोजीका लागि मिनी एक्स्काभेटरसमेत परिचालन गरिएको छ।

माथिल्लो त्रिशूली-१ मा आयोजनाका तीन जना इन्जिनियरसहितको टोलीले एक्सेस टनेल-१ बाट रबर बोट प्रयोग गरी डिसेन्डर बेसिन एक्सेस क्षेत्रतर्फ करिब २०० मिटर गएपछि टनेलको बन्द भाग फेला पारेको छ।

सो क्रममा एक शव फेला परेकोसेनाले जनाएको छ। यस्तै, अडिट टनेल-३ मा १.८ किलोमिटरसम्म अपस्ट्रिमतर्फ खोजी गरिएको छ।

यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ।

टोलीले पुल जडानका लागि बेस निर्माण गरिरहेको छ। उक्त स्थानमा जडान गर्न गजुरीमा रहेको एक्रो ब्रिज त्रिशूलीतर्फ लैजाने क्रममा रहेको सेनाले जनाएको छ।

सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउन पैदल गस्तीसमेत सञ्चालन गरिरहेको छ।

चिकित्सक अधिकृतसहितको टोलीले आवश्यक उद्धार तथा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट भदौ १८ गते मात्रै ७३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। हालसम्म ती सेवाबाट ३ हजार २१५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

मित्रराष्ट्रबाट प्राप्त करिब १ हजार ९०० किलोग्राम राहत तथा उद्धार सामग्री नेपाली सेनाका हवाई साधनमार्फत धुन्चे र त्रिशूलीमा ढुवानी गरिएको छ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार ३ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालित छन्।

उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij