२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

ड्रोन आक्रमणपछि साउदीको इस्ट–वेस्ट तेल पाइपलाइन बन्द

शनिवार, भाद्र २७ २०८३०३:२८

रियाद । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको श्रृंखलाबद्ध ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्।

साउदी ऊर्जा मन्त्रालयका अनुसार पाइपलाइनलाई लक्षित गरी बिहीबार थुप्रै आक्रमण भएका थिए। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै देश वा संगठनले लिएको छैन। पाइपलाइनमा प्रत्यक्ष रूपमा कति क्षति पुगेको छ र पुनः सञ्चालन कहिले हुनेछ भन्नेबारे पनि स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले पाइपलाइननजिक रहेका पम्पिङ स्टेसनलाई निशाना बनाएका थिए। शुक्रबार सार्वजनिक गरिएको भूउपग्रह तस्बिरमा एउटा पम्पिङ स्टेसनमा आगलागीका कारण ठूलो क्षति पुगेको देखिएको छ भने अर्को तस्बिरमा स्टेसनबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ।

साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा थुप्रै ड्रोनबाट आक्रमण भएको जनाएको छ। साउदीका अनुसार ती ड्रोन इराकको भूभागबाट आएका थिए।

इराकका प्रधानमन्त्रीको अनुरोधलाई ध्यानमा राख्दै तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको साउदीले जनाएको छ। यद्यपि, इराकले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्नुपर्नेमा साउदीले जोड दिएको छ।

इराकी सरकारले पनि घटनाको भर्त्सना गर्दै आक्रमणबारे अनुसन्धान गर्ने जनाएको छ। साथै, आफ्नो भूमि वा आकाशीय क्षेत्रलाई अन्य देशमाथि आक्रमण गर्न प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

साउदी अरबको अधिकांश कच्चा तेल पूर्वी क्षेत्रमा उत्पादन हुन्छ। सामान्य अवस्थामा उक्त तेल अन्य मुलुकका बजारसम्म पुर्‍याउन समुद्री मार्ग प्रयोग गरिन्छ। तर, पर्सियन खाडीबाट बाहिर निस्कने प्रमुख समुद्री मार्ग होर्मुज जलमार्ग बन्द भएपछि साउदीले इस्ट–वेस्ट पाइपलाइनलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएको थियो।

अमेरिका–इरान युद्धका कारण होर्मुज जलमार्ग बन्द भएपछि साउदीले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पश्चिमी तटस्थित यान्बु पठाउँदै आएको थियो। यान्बुबाट समुद्री मार्ग हुँदै विश्व बजारमा तेल आपूर्ति गर्न सकिने भएकाले उक्त पाइपलाइन साउदीको तेल निर्यातका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

तर, पाइपलाइनमै ड्रोन आक्रमण भएपछि साउदीको तेल आपूर्ति प्रणाली थप दबाबमा परेको छ। यससँगै होर्मुजपछि लाल सागरको मार्गसमेत जोखिममा पर्न थालेको देखिएको छ।

यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्दब जलमार्ग क्षेत्रमाथि नियन्त्रण रहेको दाबी गर्दै साउदी पानीजहाजलाई उक्त मार्ग हुँदै आवतजावत गर्न अनुमति नदिने चेतावनी दिएका छन्। होर्मुज र बाब अल–मन्दब दुवै महत्वपूर्ण जलमार्गमा अवरोध उत्पन्न भए विश्वव्यापी तेल आपूर्ति तथा ऊर्जा बजारमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij