२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

तीजको पहिलो दिन आज दर खाँदै

आइतवार, भाद्र २८ २०८३०७:४८

काठमाडौं । हिन्दू नारीको प्रमुख पर्व हरितालिका (तीज)को औपचारिक सुरुआतसँगै आज दर खाने दिनका रूपमा मनाइँदैछ । तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन माइतीघरमा चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ ।

दर खाएसँगै चारदिने तीज पर्व सुरु हुन्छ । तीजको अवसरमा विशेषगरी दूधबाट बनेका तथा पौष्टिक परिकार खाने चलन छ । व्रत बस्ने दिन शरीरलाई आडिलो बनाउने उद्देश्यले अघिल्लो दिन दर खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको मानिन्छ ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार शास्त्रीय विधिअनुसार दर दुई प्रहर रात हुँदै खानुपर्ने उल्लेख छ । पछिल्लो समय भने परम्परागत परिकारसँगै विभिन्न मिठाई, फलफूल तथा अन्य खाद्य परिकारसमेत दरका रूपमा खाने प्रचलन बढ्दै गएको छ ।

तीजलाई धार्मिक आस्थासँगै महिलाले आफ्ना सुख–दुःख, पीडा, गुनासा र भोगाइ अभिव्यक्त गर्ने पर्वका रूपमा समेत मनाउने गरेका छन् । विशेषगरी तीजका गीत तथा नृत्यमार्फत महिलाले वर्षभरि आफूले भोगेका सामाजिक, पारिवारिक तथा व्यक्तिगत पीडा सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ ।

जन्मघर छाडेर कर्मघर पुगेपछि भोग्नुपरेका दुःख, पीडा र मर्कालाई माइतीघरमा फर्किएर आफन्त तथा साथीभाइसँग साटासाट गर्ने अवसरका रूपमा समेत तीजलाई लिने गरिन्छ । यही कारण तीज नेपाली समाजमा धार्मिक पर्वसँगै सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा स्थापित भएको छ ।

दर खाएपछि भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको मुख्य व्रत बसिन्छ । यस दिन विवाहित तथा अविवाहित महिलाले भगवान् शिवको पूजा–आराधना गर्दै आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामनासहित व्रत बस्ने परम्परा छ ।

भाद्र शुक्ल चतुर्थीका दिन गणेश चतुर्थी अर्थात् गणेश चौथी मनाइन्छ भने पञ्चमीका दिन ऋषि पञ्चमी पर्व मनाएर तीज समापन गरिन्छ । ऋषि पञ्चमीका दिन महिलाले नदी, पोखरी वा तीर्थस्थलमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने धार्मिक परम्परा छ ।

यस वर्ष भदौ ३० गते मंगलबार गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइने स्वीकृत पात्रोमा उल्लेख छ । गणेश चतुर्थी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाउने तथा ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेको दिन मनाउने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

पार्वतीसँग जोडिएको तीजको धार्मिक मान्यता

हरितालिका तीजसँग भगवान् शिव र पार्वतीको पौराणिक कथा जोडिएको छ । धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले भगवान् महादेवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा बसेर कठोर तपस्या गरेकी थिइन् ।

पार्वतीले महादेवलाई पति बनाउने इच्छा राखे पनि उनका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेको विभिन्न पुराणमा उल्लेख छ ।

आफूलाई परेको समस्या पार्वतीले आफ्ना साथीहरूलाई सुनाएपछि उनीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लगेर लुकाएको धार्मिक कथा छ । त्यही स्थानमा पार्वतीले निराहार व्रत तथा कठोर तपस्या गरी भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको मान्यता छ ।

पार्वतीलाई उनका साथीहरूले हरण गरेर लगेको दिन भाद्र शुक्ल तृतीया रहेको र यही घटनासँग जोडेर हरितालिका तीजमा व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ । ‘हरितालिका’ शब्द पनि पार्वतीलाई उनका साथीहरूले हरण गरी लुकाएको कथासँग सम्बन्धित रहेको बताइन्छ ।

तीजको मुख्य दिन महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा, आराधना तथा व्रत गर्ने गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा तीजका अवसरमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ ।

विशेषगरी पशुपतिनाथ मन्दिरमा तीजको दिन बिहानैदेखि महिलाहरूको लाम लाग्ने गर्दछ । देशका विभिन्न शिवालयमा समेत पूजा–आराधना, नाचगान तथा धार्मिक कार्यक्रम आयोजना गरी तीज मनाउने गरिन्छ ।

धार्मिक आस्था, पारिवारिक पुनर्मिलन र सामाजिक–सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा मनाइने तीज नेपाली हिन्दू नारीको महत्वपूर्ण पर्वका रूपमा रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij