काठमाडौं । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र आगामी महाधिवेशनलाई लिएर देखिएको आन्तरिक संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। पार्टीभित्र समानान्तर महाधिवेशनको तयारी र शीर्ष नेताहरूबीच जारी मतभेदका बीच पूर्वसभापति शेरबहादुर देउवा पक्षका ठूलो संख्याका नेताहरू गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने निर्णयमा पुगेका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनअघि देउवा नेतृत्वको कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेपछि पार्टीभित्रको समीकरणमा फेरबदल आएको हो। महाधिवेशन प्रक्रियामा सहभागी हुन सहमत नेताहरूलाई समायोजन गरी अघि बढाउने निर्णय भएको छ।
यस निर्णयपछि देउवा पक्षमा रहेका करिब ३१ नेता गगन थापा नेतृत्वको कार्यसमितिमा समाहित हुने भएका छन्। पछिल्लो घटनाक्रममा यो संख्या करिब ४० जनासम्म पुगेको विवरणसमेत सार्वजनिक भएको छ।
देउवा पक्षबाट संस्थापनतर्फ जाने नेताहरूमा महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे, मीनबहादुर विश्वकर्मालगायत छन्। यसअघि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू पनि निर्धारित महाधिवेशन प्रक्रियामा सहभागी हुने पक्षमा देखिएका थिए।
यसैबीच, पूर्वसभापति देउवाले असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उनले कानुनी निरूपण नहुँदै महाधिवेशन अघि बढाउनु उचित नभएको बताएका छन्।
देउवा पक्षले छुट्टै महाधिवेशनको तयारीसमेत अघि बढाएको छ। उक्त पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१–२३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उता गगन थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६–१९ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ।
१४औँ महाधिवेशनमा देउवा पक्षबाट निर्वाचित भएका पदाधिकारीहरूमा पनि पछिल्लो समय फरक समीकरण देखिएको छ। उपसभापति पूर्णबहादुर खड्कासहित आठ पदाधिकारी देउवा प्यानलबाट निर्वाचित भएका थिए। तीमध्ये महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर र फरमुल्लाह मन्सुरलगायत नेताहरू अहिले देउवा पक्षमा नरहेको विवरण सार्वजनिक भएका छन्। हाल उमाकान्त चौधरी मात्रै देउवा पक्षमा रहेको कान्तिपुरले जनाएको छ।
यसबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। सभापति गगन थापाले बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका छन्। समायोजित नेताहरूसहित बस्ने बैठकमा आगामी महाधिवेशनको प्रक्रिया, सांगठनिक व्यवस्थापन र पार्टीभित्रको विवादलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र समानान्तर महाधिवेशनको तयारी र नेतृत्वबीचको विवाद कायमै रहे पनि ठूलो संख्यामा नेताहरू संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेपछि पार्टीको आन्तरिक शक्ति समीकरणमा महत्वपूर्ण परिवर्तन देखिएको छ। विवादको अन्तिम स्वरूप भने आगामी महाधिवेशन प्रक्रिया र अदालतमा विचाराधीन विषयको निरूपणसँग जोडिएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस