२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

बाह्रौँ नोजा अनर अवार्डमा कमल खरेललाई लाइफटाइम अचिभमेन्ट, विभिन्न क्षेत्रका २० बढी व्यक्तित्व सम्मानित

मंगलवार, आश्विन २० २०८३१२:५१

काठमाडौं । कोही बैंकिङका विज्ञ, कोही संगीतका हस्ती, कोही समाजसेवी त कोही व्यवसाय र उद्यमशीलताका क्षेत्रमा सक्रिय। समाजका फरक–फरक क्षेत्रमा आफ्नो पहिचान बनाएका व्यक्तित्वहरू एउटै मञ्चमा सम्मानित भएका छन्।

राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले आयोजना गरेको बाह्रौँ नोजा अनर अवार्डमा विभिन्न क्षेत्रका उत्कृष्ट तथा योगदानकर्ता व्यक्तित्वलाई सम्मान गरिएको हो।

यस वर्षको सबैभन्दा महत्वपूर्ण लाइफटाइम अचिभमेन्ट अवार्ड बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञ कमल खरेलले हात पारे। लामो समय बैंक तथा वित्तीय क्षेत्रमा काम गरेका खरेललाई क्षेत्रगत योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो।

विशिष्ट अनर अवार्डबाट वरिष्ठ गायक आनन्द कार्की, निर्माण व्यवसायी बलिभद्र राना र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल सम्मानित भए। त्यस्तै समाजसेवी डा. लक्ष्मीप्रसाद राई र उद्यमी कुमार कार्कीले विशेष अभियन्ता अनर अवार्ड प्राप्त गरे। संगीत तथा अभिनयतर्फ पनि नोजा अवार्डले प्रतिभालाई सम्मान गरेको छ। गायिका चाँदनी शाक्य, संगीतकार सन्तोष श्रेष्ठ, अभिनेत्री झरना रिसाल र अभिनेता विकास लामिछाने उत्कृष्ट घोषित भएका छन्।

साहित्यतर्फ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, सामाजिक क्षेत्रमा दिनेश न्यौपाने तथा युवा व्यवसायीतर्फ सरोज महर्जन, सहाङ लावती लिम्बु र बैकुण्ठ दाहाल सम्मानित भए। महिला उद्यमशीलता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका रिता अवाल, बिन्दु ज्ञवाली, सोभिता धमला, शीतल शर्मा र कुमुद भट्टलाई उत्कृष्ट महिला अनर अवार्ड प्रदान गरिएको छ।

स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका ओम चाबहिल डेन्टल हस्पिटलका सञ्चालक कृष्ण घिमिरेले स्वास्थ्य सम्मान अनर अवार्ड पाए। यस वर्षको ११ हजार १११ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार पत्रकार सामना देवकोटा (अमेरिका)लाई प्रदान गरिएको छ।

कार्यक्रममा नोजा अध्यक्ष मुकुन्द ढुंगानाले सम्मानले सम्बन्धित क्षेत्रमा थप जिम्मेवारी र उत्साह बढाउने बताए। प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij