बागमती प्रदेशका १० जिल्लामा यस वर्षको विजयादशमीका समयमा सवारी दुर्घटनाको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना कम भए पनि दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या भने बढेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १२५ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने २९३ जना घाइते भएका छन् ।
विसं २०८२ को दसैँमा सोही अवधिमा १३५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने ३३२ जना घाइते भएका थिए ।
यस वर्ष चाडपर्वका समयमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको सारुले बताए । उक्त दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन् । उनका अनुसार यस वर्षको दसैँमा काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी दुर्घटना भएका छन् ।
सारुका अनुसार यस वर्ष दसैँको अवधिमा मोटरसाइकलका कारण ९८ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । उनले मोटरसाइकलबाट हुने दुर्घटनाको जोखिम बढ्दै गएको बताए ।
प्रतिक्रिया दिनुहोस