काठमाडौँ । राहुल यादवको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजलाई ११५ रनमै अलआउट गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डू १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भयो।
काठमाण्डूको इनिङ ध्वस्त पार्ने क्रममा राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। उनले ओपनर स्मित पटेल र साम हेजलेटलाई पावरप्लेमा आउट गर्दै काठमाण्डूलाई दबाबमा राखेका थिए। त्यसपछि कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई पनि उनले पवेलियन फर्काए।
आदिललाई सुरुमा अम्पायरले नटआउट दिएका थिए। तर, जनकपुरले डीआरएस लिएपछि टिभी अम्पायरले उनलाई एलबीडब्लू आउट दिएका थिए।
राहुलबाहेक सैफ हसनले दुई विकेट लिए भने मोइन अली, हर्मित सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे।
काठमाण्डूका लागि पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले चार चौका प्रहार गरे। तर, ललितको बलमा स्टेप आउट गरेर खेल्ने क्रममा उनी स्टम्पिङ भए।
त्यस्तै, रासिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। काठमाण्डूका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
जनकपुरले अब जितका लागि ११६ रनको लक्ष्य पाएको छ।
प्रतिक्रिया दिनुहोस