काठमाडौँ । हिमालय क्षेत्रमा बढ्दो अव्यवस्थित निर्माणका कारण कम्तीमा तीन लाख मानिस बाढी, पहिरो तथा हिमताल विस्फोटजन्य विपद्को जोखिममा रहेको नयाँ अध्ययनले देखाएको छ। बीबीसीका अनुसार साइन्टिफिक रिपोर्ट्स जर्नलमा प्रकाशित अध्ययनले जोखिमयुक्त क्षेत्रमा निर्माण तीव्र गतिमा विस्तार भइरहेको औँल्याएको हो।
अध्ययनअनुसार सन् २०१६ देखि २०२३ सम्म नेपालको उत्तरी क्षेत्र, दक्षिणपूर्वी तिब्बत र भारतको उत्तराखण्डका जोखिमयुक्त क्षेत्रमा निर्माण भएका संरचनाको क्षेत्रफल करिब ४५ प्रतिशतले बढेको छ। हिमताल विस्फोटबाट बाढी आउने जोखिम भएका क्षेत्रमा भने निर्माण करिब ७८ प्रतिशतले वृद्धि भएको छ।
अध्ययनले जोखिमयुक्त क्षेत्रमा पर्यटन पूर्वाधार, होटल, आवास, सडक तथा जलविद्युत् आयोजना विस्तार भइरहेको देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अध्ययनमा समेटिएका क्षेत्रबाहिर पनि जोखिम रहेकाले प्रभावित मानिसको वास्तविक सङ्ख्या अझ बढी हुन सक्छ।
नेपालको पोखरा, अन्नपूर्ण क्षेत्र तथा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा तीव्र निर्माणले जोखिम बढाएको अध्ययनले औँल्याएको छ। नदी किनारमा निर्माण गरिएका बस्ती तथा संरचनाहरू बाढी र पहिरोबाट प्रभावित हुँदै आएका छन्। गत अगस्टमा आएको विनाशकारी बाढीले समेत ठूलो जनधनको क्षति गराएको थियो।
वैज्ञानिकहरूका अनुसार विश्वको औसतभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको हिमालय क्षेत्रमा हिमनदी पग्लिने, हिमताल विस्तार हुने र हिमताल फुटेर बाढी आउने जोखिम बढ्दै गएको छ। तापक्रम वृद्धिले वर्षाको स्वरूपमा परिवर्तन ल्याउनुका साथै चट्टान खस्ने र पहाडी भूभाग अस्थिर हुने घटनासमेत बढाउन सक्छ।
विज्ञहरूले नदी किनारमा निर्माण नियन्त्रण, प्रभावकारी पूर्वसूचना प्रणालीको विकास तथा जोखिमका आधारमा भू–उपयोग योजना लागू गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल सरकारले रसुवा–भोटेकोशी क्षेत्रमा नदी किनारबाट १५ मिटरभित्र बस्ती बसाउन प्रतिबन्ध लगाउने तयारी गरेको पनि उल्लेख गरिएको छ।
तर, कमजोर नियमन र अव्यवस्थित विकासका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको अध्ययनले चेतावनी दिएको छ। जलवायु परिवर्तनको प्रभावसँगै जोखिमयुक्त क्षेत्रमा निर्माण विस्तार भइरहँदा मानवीय क्षति न्यूनीकरणका लागि योजनाबद्ध विकास र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक देखिएको छ।
प्रतिक्रिया दिनुहोस