परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाली मुलुकमा नेपाली नागरिक ठगीमा पर्ने क्रम अझै नरोकिएको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विभिन्न अनलाइन ठगी केन्द्रमा फसेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि निरन्तर पहल भइरहेको जानकारी दिएका हुन्।
‘हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट ८६० नेपालीको उद्धार गरिएको विषय हामीले यसअघिका ब्रिफिङहरूमा जानकारी गराइसकेका छौँ,’ प्रवक्ता क्षेत्रीले भने, ‘नेपालीहरू ठगिने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी प्राप्त भएको छ।’
ठगीमा परेका नेपाली नागरिक तथा उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली राजदूतावासमा सम्पर्क गर्ने क्रम जारी रहेको उनले बताए।
उनका अनुसार दक्षिणपूर्वी एसियाका कम्बोडिया, म्यान्मार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने गरेका छन्।
यस्ता केन्द्रमा फसेका नेपालीको उद्धार तथा सम्भावित ठगीबाट जोगाउन सचेतना फैलाउने उद्देश्यले सरकारले निरन्तर समन्वय र कूटनीतिक पहल गरिरहेको प्रवक्ता क्षेत्रीले बताए।
सम्पर्कमा आएका तथा विभिन्न स्थानमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस