नेपाली सेनाले विपद् व्यवस्थापनका लागि सरकार बृहत् तथा एकीकृत योजनासहित अघि बढ्नुपर्नेमा जोड दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्।
भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारको समन्वयात्मक योजना आवश्यक रहेको बताए।
उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणको मुख्य नेतृत्व सम्बन्धित जिल्लाले नै लिनुपर्ने सुझाव दिए। भोटेकोशी बाढीका कारण धेरै सडक क्षतिग्रस्त भए पनि प्राथमिकतामा रहेका सडकहरूको निर्माण तथा पुनःस्थापनामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, विपद्को उच्च जोखिममा रहेका हिमनदी तथा हिमतालबाट हुन सक्ने सम्भावित क्षतिलाई ध्यानमा राख्दै आगामी कार्ययोजना परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए।
सहायक रथी थापाले भोटेकोशी बाढीको खबर प्राप्त हुनासाथ जंगी अड्डाबाट स्थानीय युनिटहरूलाई सतर्क गराइएको र तत्काल हवाई साधनमार्फत सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको जानकारी दिए।
नेपाली सेना तत्काल खोज तथा उद्धार, खोज तथा पुनरुत्थानका साथै पुनःस्थापना र पुनर्निर्माणका कार्यमा निरन्तर खटिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस