दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का १५औँ महासचिव मोहम्मद गोलाम सरवार आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन्।
२०८० कात्तिकमा नियुक्त भएका सरवारले कार्यकाल पूरा गरेपछि स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनको कार्यकालमा सार्कको गतिविधि प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी सन् २०१४ यता हुन नसकेको सार्क शिखर सम्मेलनसमेत आयोजना गराउन नसकेको विषयमा उनको कार्यकालमाथि टिप्पणी भइरहेको छ।
बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सरवार सार्कको महासचिव बन्ने तेस्रो कूटनीतिज्ञ हुन्। उनले सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।
कूटनीतिक सेवाका क्रममा उनले मलेसिया, ओमन र स्वीडेनका लागि बङ्गलादेशी राजदूतका रूपमा काम गरेका थिए। त्यस्तै, क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा समेत विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका थिए।
यसैबीच, सार्कको १६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे नियुक्त भएका छन्। उनी छिट्टै काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सार्क सचिवालयमा वर्णानुक्रमका आधारमा नेतृत्व चयन गर्ने परम्पराअनुसार नयाँ महासचिव सिफारिस गर्ने पालो अफगानिस्तानको थियो। तर अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई सार्क सदस्य राष्ट्रहरूले औपचारिक मान्यता नदिएका कारण बङ्गलादेशले अवसर पाएको थियो।
यसपटक पनि अफगानिस्तानलाई जिम्मेवारी नदिई भुटानका प्रतिनिधिलाई महासचिव नियुक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस