काठमाडौं । न्यूनतम तलब वृद्धि गर्न माग गर्दै बंगलादेशको राजधानी ढाकासहित तीन क्षेत्रमा कपडा कारखानाका मजदुरले प्रदर्शन गरेका छन् । आइतबार भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी र तोडफोडका घटना भएका छन् ।
ढाकाको मिरपुर क्षेत्रमा मजदुरले सडक अवरुद्ध गर्दै प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा समेत आगजनी गरेका छन् । गाजीपुरको कोनाबाडी क्षेत्रमा एउटा प्रहरी चौकीमा आगो लगाइएको छ भने आशुलिया औद्योगिक क्षेत्रमा कम्तीमा ३० वटा कारखाना बन्द भएका छन् ।
मजदुरले हाल कायम नौ हजार ६०० टाका न्यूनतम मासिक तलब बढाएर ३० हजार टाका पुर्याउन माग गरेका छन् । आइतबार बिहान मिरपुर–१० चोकमा भेला भएका मजदुरले सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
तनाव बढेपछि मिरपुर–१० मेट्रो स्टेसनको प्रवेशद्वारसमेत बन्द गरिएको थियो । शनिबार पनि मजदुरले सोही क्षेत्रमा करिब चार घण्टा सडक अवरुद्ध गरेका थिए ।
गाजीपुरको कालीकैर क्षेत्रमा पनि बिहानैदेखि प्रदर्शन भएको थियो । कोनाबाडीमा प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन सरकारले बोर्डर गार्ड बंगलादेश (बीजीबी)का पाँच प्लाटुन सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरेको थियो ।
यसैबीच, मजदुर आन्दोलन चर्किएपछि बंगलादेश सरकारले आइतबार नयाँ न्यूनतम तलब निर्धारण गर्न ६ सदस्यीय तलब बोर्ड गठन गरेको छ । श्रममन्त्री आरिफुल हक चौधरीले बोर्डले सकेसम्म छिटो नयाँ तलब निर्धारण गर्ने बताएका छन् । बोर्डमा कारखाना मालिक, मजदुर संगठन र स्वतन्त्र प्रतिनिधिको सहभागिता छ ।
सन् २०२३ डिसेम्बरमा बंगलादेशका कपडा मजदुरको न्यूनतम मासिक तलब नौ हजार ६०० टाका निर्धारण गरिएको थियो । अतिरिक्त समय काम गर्दा पनि उनीहरूले मासिक १४ देखि १५ हजार टाकासम्म मात्र कमाउने गरेका छन् ।
मजदुरका अनुसार पछिल्ला वर्षमा कोठाभाडा, खाद्यान्न, उपचार र बालबालिकाको शिक्षालगायतका खर्च उल्लेख्य रूपमा बढेका छन् । केही वर्षअघि दुई हजार टाका पर्ने कोठाभाडा अहिले बढेर ६ हजार टाकासम्म पुगेको छ । यही कारण उनीहरूले न्यूनतम तलब ३० हजार टाका पुर्याउन माग गरिरहेका छन् ।
बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अनुसार देशमा करिब चार हजार दर्ता भएका कपडा कारखाना छन् । ती कारखानामा ४० लाखभन्दा बढी मानिस कार्यरत छन् ।
चीनपछि विश्वकै दोस्रो ठूलो कपडा निर्यातकर्ता रहेको बंगलादेशले १५० भन्दा बढी देशमा तयारी पोसाक निर्यात गर्दै आएको छ । नयाँ तलब कति निर्धारण हुने र कहिलेदेखि लागू हुने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस