विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस विषयमा सार्वजनिक गर्ने धारणा र अघि बढाउने प्रक्रियालाई हेरेर कांग्रेसले आफ्नो दृष्टिकोण तय गर्ने बताएका छन्।
सोमबार (कात्तिक १६) सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गलत क्रियाकलापका विषयमा कांग्रेस गम्भीर र सचेत रहेको बताए।
उनले रास्वपाले यस विषयलाई कसरी संसद्मा प्रवेश गराउँछ भन्ने आधारमा कांग्रेसले आफ्नो धारणा बनाउने स्पष्ट पारे।
‘गलत क्रियाकलापका विषयमा हामी अत्यन्त गम्भीर र सचेत छौँ। उहाँहरूले यस विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ र संसद्मा कसरी प्रवेश गराउनुहुन्छ, त्यसअनुसार हामी आफ्नो धारणा बनाएर अगाडि बढ्छौँ,’ आङ्देम्बेले भने।
यसअघि रास्वपाले बिचौलिया इनम सापकोटासँग सम्बन्ध रहेको आरोप लागेका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल अघि बढाएको थियो। यद्यपि, यसबारे रास्वपाले अहिलेसम्म ठोस धारणा सार्वजनिक गरिसकेको छैन।
प्रतिक्रिया दिनुहोस