काठमाडौं । अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।
प्रदर्शनको पहिलो दिन चलचित्रले देशभर २६० शो पाएको छ । चलचित्र वितरक करण श्रेष्ठका अनुसार बिहानैदेखि १२० शो हाउसफुल भइसकेका छन् भने अन्य शो पनि हाउसफुल हुने क्रममा छन् ।
“२६० भन्दा माथि शो पाएको चलचित्रका १२० शो बिहानै हाउसफुल भइसकेका छन् । अझै धेरै शो हाउसफुल हुने चरणमा छन्,” वितरक श्रेष्ठले भने ।
चलचित्रमा अनमोल केसीसँगै प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्त मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशन भुवन केसीले गरेका हुन् ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको चलचित्रमा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी र रेअर राईलगायत कलाकारको पनि अभिनय रहेको छ ।
कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्रको कथा तथा पटकथा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् ।
पहिलो दिन नै उल्लेख्य शो र अग्रिम दर्शक आकर्षण देखिएपछि चलचित्रको व्यावसायिक प्रदर्शनप्रति चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस