मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक गाडी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएका अन्य व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस