काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा उनले पुराना कानुनका आधारमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखिने गरेको बताइन्। कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन संसदमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ।
ओलीले कानुन निर्माणका क्रममा प्रतिपक्षी दलका सांसदहरूले प्रस्तुत गरेका संशोधनहरू अस्वीकृत हुने संसदीय अभ्यास रहे पनि सत्तापक्षका सांसदहरूले हालेका संशोधनसमेत अस्वीकृत हुने गरेको बताइन्। यस्तो अवस्थामा सदनमा पर्याप्त छलफल गरेर सत्तापक्षसँगको सहकार्यमा कानुनलाई सुधार गर्नुपर्नेमा उनले जोड दिइन्।
संसदमा बहस र छलफलमार्फत सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य गरी कानुन निर्माण प्रक्रियालाई थप परिमार्जित बनाउनुपर्ने उनको धारणा छ।
उनले कानुन निर्माणसम्बन्धी छलफलका लागि पर्याप्त समय छुट्याउनुपर्ने पनि बताइन्। सामान्यतया दुईदेखि तीन मिनेटमै हतारमा विषय टुङ्ग्याउने वा एकै दिनमा चारदेखि पाँचवटा विधेयकमाथि सतही छलफल गर्ने परिपाटीले पर्याप्त बहस हुन नसक्ने उनले उल्लेख गरिन्।
कानुन निर्माणलाई प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन विधेयकमाथि गहन छलफल तथा संशोधनका विषयमा गम्भीर बहस हुनुपर्नेमा ओलीले जोड दिइन्।
प्रतिक्रिया दिनुहोस