काठमाडौं । सेयर बजारमा लगातार छैटौँ कारोबार दिन पनि वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार बजार २१.३२ अंकले बढेको थियो।
बिहीबार बैंकिङ समूहमा ०.१६ प्रतिशतको गिरावट आएको छ। फाइनान्स समूह भने सबैभन्दा धेरै १.०३ प्रतिशतले बढेको छ।
त्यस्तै, विकास बैंक समूह ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, लघुवित्त ०.३८ र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेका छन्।
घट्ने समूहमा बैंकिङसँगै अन्य ०.१९, व्यापार ०.५५ तथा उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशतले घटेका छन्।
बिहीबार सेयर कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३१३ रुपैयाँ ९० पैसा पुगेको छ।
बिहीबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य ६.३५ प्रतिशत, मञ्जुश्री फाइनान्सको ४.४४ प्रतिशत, रिडी पावरको ३.७५ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ३.५८ प्रतिशत र ग्रिन भेन्चर्सको ३.४५ प्रतिशतले बढेको छ।
यसैगरी, माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य २.८३ प्रतिशत र कालंगा हाइड्रोपावरको २.७३ प्रतिशतले घटेको छ।
आज कारोबार रकमका आधारमा कुमारी बैंक, अपी पावर, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, ग्रिन भेन्चर्स, ग्लोबल आईएमई बैंक, माउन्टेन इनर्जी नेपाल, मध्यभोटेकोशी जलविद्युत् कम्पनी र सानिमा बैंक अगाडि रहेका छन्।
प्रतिक्रिया दिनुहोस