अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधका रूपमा बुझ्ने युग अन्त्य भएको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै उनले नयाँ पुस्ताको मुख्य आकांक्षा आर्थिक समृद्धि, रोजगारी र सुशासन रहेको उल्लेख गरेका हुन्।
विगतमा दशकौँसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताए। तर, अहिलेको पुस्ताको सोच र प्राथमिकता फरक रहेको उनको भनाइ छ।
‘तर, हाम्रो पुस्ता फरक छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन्। हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ वाग्लेले भने, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’सँग जोड्ने त्यो युग अब सकियो।’
नेपालको परराष्ट्र नीति, आर्थिक कूटनीति र दैनिक कामकारबाही पनि यही सकारात्मक र यथार्थपरक सोचका साथ अघि बढिरहेको उनले बताए। दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन यसै वर्षको अन्त्यअघि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने अपेक्षा रहेको पनि उनले जानकारी दिए।
नेपाल र भारतको भाग्य तथा भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक समृद्धिका लागि भारतसँगको सघन सहकार्य अपरिहार्य रहेको बताए।
भूपरिवेष्ठित देशका लागि छिमेकी मुलुकको आर्थिक विकासबाट प्राप्त हुने सकारात्मक प्रभाव महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले छिमेकीको अर्थतन्त्र एक प्रतिशतले वृद्धि हुँदा भूपरिवेष्ठित देशको आर्थिक वृद्धिमा औसत ०.७ प्रतिशत योगदान पुग्ने तथ्यांक प्रस्तुत गरे।
नेपालले भारतबाट थप प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन र नेपाली उत्पादनका लागि भारतीय बजारमा सहज पहुँच स्थापित गर्न चाहेको पनि उनले बताए।
नेपाल–भारत सम्बन्ध भूगोल र अर्थतन्त्रमा मात्र सीमित नभई साझा सभ्यता र ऐतिहासिक सम्बन्धसँग जोडिएको वाग्लेको भनाइ छ। सन् २०१५ को विनाशकारी भूकम्पदेखि हालैका बाढीपहिरोसम्मका विपद्का समयमा भारतले ‘पहिलो उद्धारकर्ता’ का रूपमा सहयोग गरेको उल्लेख गर्दै उनले त्यसप्रति नेपाल आभारी रहेको बताए।
प्रतिक्रिया दिनुहोस