२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै, चार महिनामै ८४ हजारभन्दा बढीले गरे भ्रमण

बिहिवार, मंसिर ४ २०८३१०:३०

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ। दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा र घडियाल गोहीलगायतका जनावर अवलोकन गर्ने पर्यटकको आकर्षण बढेसँगै निकुञ्ज भ्रमण गर्नेको सङ्ख्या पनि वृद्धि भएको हो।

पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्किएपछि घुमफिर गर्ने प्रवृत्ति बढ्नुका साथै विदेशी पर्यटकको आकर्षणसमेत बढ्दै गएको छ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेका छन्। यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ हजार २१२ ले बढी हो।

भ्रमण गर्ने पर्यटकमध्ये ४५ हजार ३६८ जना नेपाली, तीन हजार ७८७ जना सार्क मुलुकका र ३४ हजार ८९९ जना तेस्रो मुलुकका रहेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ६७ हजार ८४२ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। त्यतिबेला नेपाली ३९ हजार ७०४, सार्क मुलुकका तीन हजार ३५२ र तेस्रो मुलुकका २४ हजार ७८६ जना पर्यटक आएका थिए।

गत आर्थिक वर्षभरि भने दुई लाख ७२ हजार ९२३ जनाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।

चार महिनामा १० करोडभन्दा बढी राजस्व

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको चार महिनामा १० करोड छ लाख चार हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

सूचना अधिकारी तिवारीका अनुसार विभिन्न शीर्षकबाट सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी पर्यापर्यटनबाट नौ करोड ७३ लाख १६ हजार ५०० रुपैयाँ प्राप्त भएको छ।

त्यस्तै, गैरकाष्ठ वन पैदावार बिक्रीबाट १८ लाख १३ हजार १८१ रुपैयाँ, अन्य शीर्षकबाट १२ लाख ३२ हजार ७०० रुपैयाँ, दण्ड सजायबाट दुई लाख १३ हजार ३०० रुपैयाँ तथा काठ र दाउरा बिक्रीबाट २८ हजार ६५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

गत आर्थिक वर्षमा निकुञ्जले कुल ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij