अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई युक्रेनलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग बन्द गर्न आग्रह गरेको समाचार सार्वजनिक भएको छ।
बेलायती सञ्चारमाध्यम ‘द इन्डिपेन्डेन्ट’का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताको केही घण्टापछि ट्रम्पले बिहीबार युरोपेली नेताहरूलाई टेलिफोन गरी यस्तो आग्रह गरेका हुन्।
टेलिफोन संवादका क्रममा ट्रम्पले रुस शान्ति सम्झौताका लागि तयार रहेको बताएका थिए। युद्ध अन्त्य भए युरोपेली मुलुकहरूको अर्बौँ डलर खर्च जोगिनुका साथै मानवीय क्षतिसमेत रोक्न सकिने उनको तर्क थियो।
यद्यपि, अमेरिकी अधिकारीहरूले ट्रम्पले युक्रेनलाई दिइँदै आएको सहयोग बन्द गर्न प्रत्यक्ष दबाब वा आदेश दिएको भन्ने विवरण अस्वीकार गरेका छन्। उनीहरूका अनुसार चीनको सेन्जेनमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको त्रिपक्षीय बैठकपछि ट्रम्पले युरोपेली नेताहरूसँग संवाद गरेका थिए।
करिब ९० मिनेट चलेको उक्त बैठकमा ट्रम्पले पुटिनलाई सार्वजनिक रूपमै ‘मेरो साथी’ भनेर सम्बोधन गरेका थिए। चिनियाँ राष्ट्रपति सीले पनि ट्रम्पलाई न्यानो स्वागत गर्दै अँगालो हालेका थिए।
सेन्जेनमा भएको बैठकमा युरोपेली देशहरूलाई सहभागी गराइएको थिएन। त्यही समयमा युरोपेली नेताहरू भने युक्रेनप्रति ऐक्यबद्धता जनाउन जर्मनीको बर्लिनमा भेला भएका थिए। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले सेन्जेन बैठकले पुटिनको मनोबल थप बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी थिइन्।
बर्लिनमा भएको बैठकमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरसमेत सहभागी थिए। कुशनरले आगामी शान्ति वार्तामा युक्रेन, रुस, अमेरिका र युरोपका प्रतिनिधिहरू एकै ठाउँमा बसेर छलफल गर्ने जानकारी दिएका थिए।
तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्तावित सुरक्षा प्रत्याभूतिको स्वरूपबारे प्रश्न उठाएका छन्। विशेषगरी शान्ति सम्झौतापछि अन्य देशका सैनिक युक्रेनमा तैनाथ हुने वा नहुने भन्ने विषयमा उनले स्पष्टता खोजेका छन्।
यसैबीच, सेन्जेन बैठकलगत्तै रुसी राष्ट्रपति पुटिनले क्रिमिया पुलमा भएको पछिल्लो आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन्। उनले तत्काल कुनै सम्झौतामा पुग्ने सम्भावना नरहेको बताउँदै रुसको जवाफी कारबाही युक्रेनको आक्रमणभन्दा कैयौँ गुणा भयानक हुने दाबी गरेका छन्।
युक्रेनी सेनाले यसै साता रणनीतिक रूपमा महत्त्वपूर्ण क्रिमिया पुलमा तेस्रोपटक आक्रमण गरेको पुष्टि गरेको थियो। युरोपकै सबैभन्दा लामो सडक तथा रेल पुलमध्ये एक मानिने उक्त संरचना रुसका लागि सामरिक तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण छ।
पुटिनले युक्रेनमा युरोपेली सैनिक तैनाथ गर्ने सम्भावनाप्रति पनि कडा आपत्ति जनाएका छन्। उनले युद्ध अन्त्यका लागि युक्रेन र युरोपेली देशहरू आवश्यक लचकता अपनाउन तयार नरहेको आरोपसमेत लगाएका छन्।
प्रतिक्रिया दिनुहोस