प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा सूचना संकलन तथा समाचार सम्प्रेषणका लागि नेपालका विभिन्न सञ्चारमाध्यमबाट २६ जना पत्रकार सहभागी हुने भएका छन्।
भ्रमणमा सहभागी हुने पत्रकारलाई आवश्यक सहजीकरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणलाई पारदर्शी, व्यवस्थित र सूचनामैत्री बनाउने उद्देश्यले सरकारी सञ्चारमाध्यमका तर्फबाट नेपाल टेलिभिजन, गोरखापत्र दैनिक र राष्ट्रिय समाचार समिति (रासस) बाट एक–एक जना गरी तीन जना पत्रकार सहभागी हुनेछन्। त्यस्तै, निजी तथा मूलधारका सञ्चारमाध्यमबाट २३ जना पत्रकारले स्थलगत रिपोर्टिङ गर्नेछन्।
सरकारका अनुसार निजी सञ्चारमाध्यमबाट सहभागी हुने पत्रकारले नेपालबाट भारतसम्मको हवाई टिकट र होटल बसाइको खर्च आफैँ बेहोर्नुपर्नेछ। निजी क्षेत्रबाट भ्रमणमा सहभागी हुने पत्रकारमा कान्तिपुर मिडिया हाउसका अनिल गिरी, नयाँ पत्रिकाका परशुराम काफ्ले, अनलाइनखबरका दुर्गा खनाल, रातोपाटीका मधुसुधन भट्टराई, बाह्रखरीका बलराम पाण्डे, नेपालखबरका पूर्ण बस्नेत, नेपाल भ्युजका सीताराम बराल, देश सञ्चारका युवराज घिमिरे र काठमाडौं पार्टीका रोशन खड्कालगायत रहेका छन्।
भारत पुगेपछि पत्रकारको स्वागत, आन्तरिक यातायात, भोजन तथा रिपोर्टिङ स्थलसम्म पुग्ने व्यवस्था नेपाली राजदूतावास र भारतको विदेश मन्त्रालयको समन्वयमा मिलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सञ्चारकर्मीको सहजताका लागि सरकारले सिमकार्डको समेत व्यवस्था गरेको छ।
यसपटकको भ्रमणमा विगतको तुलनामा निजी सञ्चारमाध्यमका पत्रकारलाई समाचार संकलनका लागि फराकिलो पहुँच उपलब्ध गराइने भएको छ। कूटनीतिक गोपनीयता कायम गर्नुपर्ने तथा अति संवेदनशील कार्यक्रमबाहेक अधिकांश औपचारिक कार्यक्रममा निजी सञ्चारमाध्यमका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतको विदेश मन्त्रालयको संयुक्त पहलमा पत्रकारका लागि यस्तो व्यवस्था मिलाइएको हो।
यसैक्रममा प्रधानमन्त्री बालेनकी मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीलगायतको टोलीले भारत भ्रमणमा सहभागी हुने पत्रकारलाई शुक्रबार परराष्ट्र मन्त्रालयमा सामूहिक ब्रिफिङ गरेको थियो। ब्रिफिङमा यात्राको तयारी, कूटनीतिक मर्यादा र समाचार संकलनमा आवश्यक सहजीकरणबारे जानकारी गराइएको थियो।
प्रतिक्रिया दिनुहोस