नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा बाराका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सरकारी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त नक्कली प्रमाणपत्रकै आधारमा यादव प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई राष्ट्रसेवकका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको ठहर छ।
आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस