प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जनकपुरधाम र भारतको अयोध्या जोड्ने सिधा रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका हुन्।
रामायणकालीन सांस्कृतिक र धार्मिक महत्त्व बोकेका भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई प्रत्यक्ष रेल सञ्जालले जोडेको हो।
करिब ६०४ किलोमिटर लामो यो रेलमार्गमा साताको एक दिन ‘वन्दे भारत’ स्तरको रेल सेवा सञ्चालन हुनेछ। निर्धारित समयतालिकाअनुसार भारतको अयोध्या क्यान्ट स्टेसनबाट प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा रेल छुट्नेछ र भोलिपल्ट अर्थात् मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्नेछ।
त्यसैगरी, जनकपुरधामबाट प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा अयोध्याका लागि रेल प्रस्थान गर्नेछ, जुन आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या पुग्नेछ।
यस रेलका व्यावसायिक ठहरावहरू भारतका जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर स्टेसनमा रहनेछन्। यसअघि भारतीय रेल्वेले गत नोभेम्बर ५ मा यस खण्डमा रेल सेवाको सफल परीक्षण गरिसकेको थियो।
यो रेल सेवाको सुरुवातसँगै नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ प्रगाढ बन्ने र रामायण सर्किट अन्तर्गतको धार्मिक पर्यटन प्रवर्द्धनमा ऐतिहासिक टेवा पुग्ने विश्वास दुवै देशले लिएका छन्।
सोमबार उद्घाटन भएको रेल भोलि मंगलबार भारतीय तीर्थयात्रीहरूसहित जनकपुरधाम आइपुग्नेछ, जहाँ यात्रुहरूको स्वागतका लागि विशेष तयारी गरिएको छ। अर्को सातादेखि भने सर्वसाधारणले टिकट बुकिङ गरी नियमित यात्रा गर्न सक्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस