२०८३, मंसिर १० गते

बुधवार, मंसिर १० गते २०८३

मोदीद्वारा प्रधानमन्त्री बालेनलाई स्वर्गीय बुबाको विद्यार्थी जीवनको तस्बिर उपहार

मंगलवार, मंसिर ९ २०८३०९:०६

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई उनका स्वर्गीय पिता डा. रामनारायण शाहको विद्यार्थी जीवनको पुरानो तस्बिर उपहार दिएका छन्।

गुजरातको जामनगरस्थित आयुर्वेद विश्वविद्यालयमा अध्ययन गर्दाको उक्त तस्बिर मोदीले प्रधानमन्त्री शाहलाई दिएका हुन्। रामनारायणले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए। उनको गत वर्ष ७७ वर्षको उमेरमा काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको थियो।

मोदीले प्रधानमन्त्री शाहलाई वाराणसीको गङ्गाजल, बनारसी ब्रोकेड स्टोल र रामायणको सम्पूर्ण कथा चित्रण गरिएको कलमकारी चित्रसमेत उपहार दिएका छन्। *दैनिक भास्कर*का अनुसार बनारसी स्टोल परम्परागत गुजराती साडेली बाकसमा राखेर प्रदान गरिएको थियो।

सन् १९४८ मा महोत्तरीको एकडारा गाउँमा जन्मिएका रामनारायणका पिता मुनीलाल शाह त्यस क्षेत्रका प्रभावशाली जग्गाधनी थिए। खेतीपातीमा संलग्न उनको परिवारको स्थानीय समुदायमा विशेष प्रभाव थियो।

आयुर्वेदलाई पेसा बनाउने निर्णय गरेका रामनारायण उच्च शिक्षा हासिल गर्न भारत गएका थिए। उनले गुजरातको जामनगरस्थित आयुर्वेद विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेपछि सन् १९८० को दशकको सुरुवातमा नेपाल फर्किएका थिए।

नेपाल फर्किएपछि उनले सरकारी आयुर्वेद चिकित्सकका रूपमा सेवा सुरु गरे। उनलाई सिंहदरबार वैद्यखानामा नियुक्त गरिएको थियो। उनले सन् २००१ देखि २००५ सम्म वैद्यखानाको प्रबन्ध निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।

काठमाडौँमा लामो समय बसेर सरकारी सेवामा काम गरे पनि रामनारायण आफ्नो पुर्ख्यौली गाउँ एकडारासँग निरन्तर जोडिएका थिए। उनले गाउँमा साप्ताहिक हाटबजार सञ्चालनका लागि जग्गा दान गर्नुका साथै स्थानीय मन्दिरको मर्मतसम्भारमा समेत सहयोग गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली गएका थिए। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले दिएको स्वर्गीय पिताको विद्यार्थी जीवनको तस्बिरलाई विशेष अर्थपूर्ण उपहारका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाह सोमबार बेलुका स्वदेश फर्किएका थिए।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij