काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसाय सञ्चालनका नाममा पर्यटकलाई ठगी गर्ने तथा नियमविपरीत गतिविधि गर्ने २२ जनामाथि कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी तथा ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त अनुगमन गरी उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार अनुगमनका क्रममा ठूलो आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, बिनादर्ता सञ्चालित स्पा, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायी तथा पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक कारबाहीमा परेका छन्।
गत शुक्रबारको अनुगमनमा पहिचान भएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी प्रशासनमा उपस्थित गराइएको थियो। उनीहरूलाई आगामी एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, बिनादर्ता सञ्चालनमा रहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले जानकारी दिए।
ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने उद्देश्यसहित जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत ‘ठमेललाई २४ सै घण्टा सञ्चालनसम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०’ कार्यान्वयन गर्ने क्रममा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो। उक्त मापदण्ड तत्कालीन परिषद् अध्यक्ष भविश्वर शर्मा नेतृत्वमा तयार गरिएको थियो।
अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा अन्य सामान जफत गरिएको छ। उनीहरूलाई एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिमाथि समेत निगरानी गरिएको थियो। त्यस्ता व्यक्तिमध्ये केहीलाई सम्झाइबुझाइ गरी छाडिएको र केहीलाई प्रहरीले नियन्त्रणमा लिएको परिषद्का महासचिव पशुपति कँडेलले बताए।
त्यस्तै, रातको समयमा ठूलो आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका मोटरसाइकल चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। सडकपेटीमा चिया तथा चुरोट बिक्री गर्ने बहानामा अनैतिक गतिविधि सञ्चालन गर्नेहरूलाई नगर प्रहरीले हटाएको जनाएको छ।
डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायको आवरणमा विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा संलग्न व्यक्तिमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको महासचिव कँडेलले बताए।
अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ। व्यवसाय सञ्चालनका नाममा पर्यटकसँग अनावश्यक तथा अत्यधिक रकम असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रशासनले निगरानी बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस