नेपाल ट्राफिक प्रहरी ले यात्रुहरूको गुनासो बढेपछि काठमाडौँ उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमाथि विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।
अनुगमनका क्रममा बस, माइक्रोबस लगायतका सवारी साधनहरूले यात्रुहरूलाई जोखिमपूर्ण तरिकाले यात्रा गराउने, लापरबाहीपूर्वक सवारी सञ्चालन गर्ने तथा सवारीको ढोकामा यात्रु झुन्ड्याउने जस्ता गम्भीर लापरबाही फेला परेको प्रहरीले जनाएको छ।
विशेषगरी माइक्रोबसहरूमा यात्रुहरूले शरीरको आधा भाग बाहिर निकालेर यात्रा गर्ने खतरनाक अवस्था देखिएको थियो, जसले दुर्घटनाको जोखिम उच्च बनाउने देखिएको छ।
यस्ता गतिविधिमा संलग्न सवारी साधनहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको छ। साथै, चालक तथा परिचालकहरूलाई सचेत गराउने उद्देश्यले सचेतना कक्षा समेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस