२०८३, भाद्र ५ गते

शुक्रवार, भाद्र ५ गते २०८३

७८औँ दिनमा रोकियो विपक्षीको विरोध, प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सोमवार, भाद्र १ २०८३०३:३३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले गर्दै आएको संसद् विरोध ७८औँ दिनमा आएर रोकिएको छ ।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा भारतले पनि नेपालको भूमि मिचेको हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका थिए । जेठ २७ गतेसम्म उनीहरूले संसद् बैठक नै अवरुद्ध गरेका थिए ।

त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिएपछि विपक्षी दलहरू सदनको अवरोध हटाउन तयार भएका थिए । तर, त्यसयता बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै उनीहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउन सभामुखमार्फत रुलिङको माग गर्दै आएका थिए ।

आजको बैठक सुरु भएपछि पनि विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए । त्यसक्रममा सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भई प्रश्नोत्तरका क्रममा उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।

“प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ,” सभामुखले भने ।

उनले विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई रुलिङ गरिसकेको भन्दै अब सभा सञ्चालनमा सहयोग गर्न पनि आग्रह गरे ।

सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानमा बसेका थिए । त्यसपछि सभामुखले बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूलाई समय दिएका थिए ।

यससँगै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर लामो समयदेखि संसद्मा जारी विपक्षी दलहरूको विरोध तत्कालका लागि टुंगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij