नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ।
हाल काठमाडौं उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने बताएको छ। 'काठमाडौं उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ', निगमका निर्देशक विनितमणि उपाध्यायले भने।
निगमका अनुसार आज भदौ २ गते मात्रै काठमाडौं उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दैछन्। साथै भदौ १ गते काठमाडौं उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री गरिएको छ। जुन दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो।
निगमले पछिल्लो एक साताअर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भएको जनाएको छ। यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो। उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री सुरु गरेको थियो। त्यसको असर अहिले देखिएको मात्रै हो। तर यो लामो समयसम्म जाँदैन।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको बताए। उनका अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस